काठमाडौं - भारतमा आफ्नो बयानले मीटू अभियानको सुरुवात गर्ने नायिका तनुश्री दत्ताले अब अनु मलिकलाई निर्णायक बनाउने रियालिटी शो ‘इन्डियन आइडल’ र कार्यक्रमका निर्मातामाथि प्रश्न उठाएकी छिन् ।

यस्तै तनुश्रीले नेहा कक्कडलाई  हालैको एक कार्यक्रममा आफूले पनि शोषण झेले पनि च्यानलको निर्णयमाथि चुप बसेको भन्दै कटाक्ष गरेकी छिन् । तनुश्रीले च्यानललाई प्रश्न गरेकी छिन्, ‘के च्यानलको टिआरपी मानवीय मूल्यभन्दा माथि छ ?’ स्मरण रहोस्, यो कार्यक्रममा अनु मलिक, नेहा कक्कड र विशाल ददलानी निर्णायकको रुपमा देखिएका छन् ।

भारतीय समाचार माध्यम मिड डेलाई दिएको आफ्नो अन्तर्वार्तामा तुनश्रीले भनिन्, ‘म सोना महापात्रा र यस्ता सबै महिलाका लागि उभिएर ताली बजाउन चाहन्छु जसले अनु मलिकविरुद्ध आफ्नो कुरा राखिरहेका छन् ।

मलाई सबैभन्दा अचम्म के लागेको छ भने सोनी जस्तो पारिवारिक च्यानललले यस्ता व्यक्तिलाई आफ्नो कार्यक्रममा निर्णायक बन्न अनुमती दिएको छ जबकी थुप्रै प्रतिष्ठित महिलाले यी व्यक्तिले गरेको हिंसाबारे जानकारी साझा गरेका छन् । के मानवीय मूल्यभन्दा पनि माथि छ टिआरपी ? ’