काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टी समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् ।

बुधबार जारी विज्ञप्तिमार्फत उनले हालको परिस्थितिमा मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै औपचारिक रूपमा अलग हुने निर्णय सार्वजनिक गरेका हुन् ।

विप्लवले स्मरण गराउँदै भनेका छन्, ‘२०८० सालमा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जनजीविकाको पक्षमा र भ्रष्टाचारविरुद्ध संघर्ष गर्न चार दल मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो ।’

उनका अनुसार, मोर्चाले केही कार्यक्रम सञ्चालन गरे पनि अपेक्षित गतिमा राजनीतिक कार्य अघि बढ्न सकेन । महासचिव विप्लवले हालको जेनजी आन्दोलन र त्यसपछि आएको राजनीतिक परिवर्तनले नयाँ प्रकारका वाम एकता र मोर्चाबन्दीको आवश्यकता देखिएको टिप्पणी गरेका छन् ।

त्यस आधारमा विप्लव नेतृत्वको नेकपाले मोर्चाबाट अलग भएको जानकारी दिंदै उनले मोर्चामा आबद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यसअघि समाजवादी मोर्चामा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपा आवद्ध थिए ।