काठमाडौं -  सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका र अलपत्र परेका नागरिकहरुको उद्धार गर्न अन्तरिम आदेश दिएको छ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भटटराई र सपना प्रधान मल्लको इजलासले वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै कोरोना भाइरसको संक्रमणका कारण लकडाउन लम्बिरहँदा सयौँ किलोमिटर हिँडेरै मजदुर घर जान थालेपछि उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउन  अन्तरिम आदेश दिएको हो।

‘विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो स्थायी बसोबास रहेको गाउँ नगरको निमित्त पैदले प्रस्थान गरिसकेका जनताहरुलाई सुरक्षित सुरुमा गन्तव्यमा पुर्‍याउनु राज्यको प्राथमिक कर्तव्य हो । यी वर्गको तथा समूहको व्यक्ति र वृहत समाजको हितलाई समेत ध्यानमा राखी स्थानीय रुपमा हाल परिचालित स्वास्थ्य परीक्षणसम्बन्धी जनशक्तिको मोवाइल समूहहरुलाई परिचालन गरी उनीहरुको र्‍यापिड टेष्ट गर्दै सुरक्षाको लागि अपनाउनुपर्ने सबै आवश्यक उपायहरु अवलम्वन गर्दै अत्यन्त प्राथमिकताको साथ उनीहरुलाई सरकारको कार्यमा आस्वस्थ हुने गरी अविलम्ब सबै राजमार्गहरुबाट सवारी साधनहरुको निशुल्क व्यवस्था गरी उनीहरुको गन्तव्य स्थानमा पुर्‍याइदिनू । सो गर्दा महिला, बालबालिका, जेष्ठ नागरिक, शारीरिक रुपमा अस्वस्थ व्यक्तिहरुको विशेष सुरक्षा गर्नू र प्राथमिकतामा राख्नू ।’ सर्वोच्चको आदेशमा उल्लेख छ ।