कोरोनामा आयुर्वेदिक उपचार प्रभावकारी, सात दिनमै निको भए बिरामी
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् ।
कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो स्वास्थ्य लाभ गरेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोनाका ३३ जना बिरामी सात दिनमै निको भएर घर फर्किएका छन् । उनीहरूलाई स्वास्थ्य लाभ हासिल गर्न दुई साताको समय पनि लागेन । अरू बिरामी पनि निको हुने क्रम बढ्दो छ ।
आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन्, “आयुर्वेद औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्नसक्ने क्षमता भएको हो ।” उहाँका अनुसार कोरोना सङ्क्रमित भर्ना भएपछि आयुर्वेदविज्ञ तथा चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने औषधि प्रयोग गरिएको छ ।
यसैगरी रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि खान दिइएको छ । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आयो, कोरोना देखिएन । कोरोना पुष्टि भएपछि आत्तिएकी भक्तपुरकी २२ वर्षीया नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भइन् । आफूले बिरामीलाई एलोपेथिक औषधि मात्र सेवन गर्न दिने उनले कहिल्यै आयुर्वेदिक औषधि प्रयोग गरेकी थिइनन् ।
“आयुर्वेदिक चिकित्सकको सल्लाह बमोजिम सोही औषधि खाएँ, दस दिनमा त मलाई निको भयो । परीक्षणमा कोरोना देखिएन,” उनले आयुर्वेद पद्धतिमा आफ्नो विश्वास बढेको बताइन् । उनले दैनिक तीनपटक दुई गोली औषधि खान दिइएको र त्यसैले कोरोनालाई सजिलै जितेको अनुभव सुनाइन् । उनका अनुसार अहिलेसम्म कुनै पनि नकारात्मक (साइडइफेक्ट) असरसमेत देखा परेको छैन ।
उनी मात्र होइन, बागलुङका ३५ वर्षीय जङ्गबहादुर केसी पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताउँछन् । कतारबाट नेपाल आएका केसी भक्तपुरस्थित राधे राधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर गराउँदा पोजेटिभ देखिएको थियो । कोरोनाको लक्षण नदेखिएका उनले अस्पतालमा हुँदा तातोपानीमा बेसार र नुन हालेर दैनिक रूपमा खान्थे ।
केसी भन्छन्, “अस्पतालको व्यवस्था धेरै राम्रो छ, कोठामै तातोपानीको व्यवस्था थियो र दैनिक रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीनपटक खान दिइन्थ्यो ।” आठ दिनमा नै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केको जानकारी दिँदै उनले भने, “हाल हर्बल टी र च्यवनप्रास सेवन गरिरहेको छु । अहिले म आफूूलाई स्वस्थ र बलियो महसुस गरिराखेको छु ।”
गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डा. जोशीले पहिलोपटक २० जना कोरोना सङ्क्रमित आएका र हाल सबै डिस्चार्ज भएको जानकारी दिए । त्यसलगत्तै दोस्रोपटक २० जना भर्ना भएको र १४ जना डिस्चार्ज भइसकेको जनाइएको छ ।
आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड–१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले अब दैनिक रूपमा सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा हाल १६७ जना रहेको जानकारी दिए । त्यसमा पुरुष १२१ र महिला ४७ जना उपचाररत हुनुहुन्छ । उहाँहरूलाई पनि सोही औषधि प्रयोग गरिएको र सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।
अहिलेसम्म दुई जनालाई गङ्गालाल अस्पताल र एक जनालाई आईसीयूका लागि टेकु पठाइएको उनले जानकारी दिए । भर्ना भएकामध्ये तीन जनामा सामान्य रुघाखोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खासै लक्षण नदेखिएको डा. श्रेष्ठले जानकारी दिए ।
डा. जोशीले सङ्क्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्धा, तुलसी, मरिचलगायत जडीबुटीबाट बनेको औषधि खुवाइएको जानकारी दिए । औषधिका साथै खानामा समेत विशेष ध्यान दिइयो । उनले भने, “कोरोना सङ्क्रमणलाई भिटामिन सी, खनिजमा जिङ्क भएको खाना मिलाएर दिने गरेका छौँ ।”
खाना र औषधिका साथै मेडिटेसन, सामान्य नाचगान तथा योगा गर्नका लागि मौखिक रूपमा भनिएको र धेरै बिरामीले पालना गर्ने गरेको चिकित्सकको भनाइ छ ।
गोरखापत्र दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस