काठमाडौं - चलचित्र विकास बोर्डले ‘आमा’ लाई नेपालको पहिलो चलचित्रको मान्यता दिएको छ । नेपाली चलचित्र उद्योगमा कुन चलचित्र पहिलो बनेको भन्ने विवाद लामो समयदेखि चलिरहेको थियो ।

विसं २०२२ सालमा प्रदर्शन आएको ‘आमा’ र २००६ सालमा प्रदर्शनमा आएको ‘हरिशचन्द्र’ बीच कुन पहिलो भन्ने विवाद चलिरहेको थियो । यो विवादलाई आधिकारिक रुपमा टुंग्याउँदै बोर्डले आफ्नो आधिकारिक वेबसाइटमा विसं २०२२ सालमा प्रदर्शनमा आएको ‘आमा’ लाई पहिलो नेपाली चलचित्र भनेर राखेको छ ।

नेपाली चलचित्रविज्ञले डिबी परियारले निर्देशन गरेको ‘हरिशचन्द्र’ भारतमा बनेको नेपाली भाषी चलचित्र भएकाले यसलाई पहिलो भन्न नहुने जिकिर गर्दै आएका थिए । उनीहरुले कोलकाताको रुपश्री सुटिङ स्टुडियोमा निर्माण गरिएको ‘हरिशचन्द्र’ नेपालमा नबनेकाले नेपालीभाषी मात्रै भन्नुपर्ने तकै गर्दै आएका थिए ।

यो विवाद चलेपछि कुन चलचित्र पहिलो भन्ने बारेमा तत्कालीन चलचित्र निर्देशक समाजले सञ्चार मन्त्रालयलाई पहिलो नेपाली चलचित्रको आधिकारिता माग्दै ज्ञापन पत्र बुझाएको थियो । तर, मन्त्रालयले यसबारेमा कुनै जवाफ दिएको छैन । यसैबीच चलचित्र विकास बोर्डले ‘आमा’ लाई पहिलो नेपाली चलचित्रको मान्यता दिएको हो ।

भारतीय निर्देशक हिरासिंह खत्रीले २०२२ सालमा प्रदर्शनमा आएको ‘आमा’ लाई निर्देशन गरेका थिए । तत्कालीन पञ्चायती शासनको प्रचारका लागि सरकारको प्रचार विभागले निर्माण उक्र चलचित्रमा अभिनेत्री भुवन चन्द, अभिनेता शिवशंकर मानन्धर, चैत्यदेवी, बसुन्धरा भुसाल लगायतका कलाकारले अभिनय गरेका थिए ।