काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने भएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो । 

काठमाडौं प्रशासनले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी मुलुक भारतमासमेत कोभिड-१९ संक्रमण बढ्दै गएकोले त्यसको प्रभाव काठमाडौँ उपत्यकामा पनि पर्ने उल्लेख गरेको छ । 

सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने विज्ञप्तीमा उल्लेख छ । 

‍आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ ।