काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारसँग आफ्नो निवास र परिवारको थप सुरक्षा माग गरेका छन् ।
शनिबार मध्यराति प्रहरी नियन्त्रणमा परेर आइतबार दिउँसो छुटेका जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै थप सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनका तर्फबाट छोरा सचिन्द्रशमशेर जबराले कार्यालयमा पत्र पठाएका छन् ।
'हालको समयमा देशको अवस्था, सामाजिक सञ्जाल लगायत मिडियाहरुमा आएका कतिपय शान्ति सुरक्षासँग सम्बन्धित प्रश्नहरुको कारण म लगायत मेरो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस गरिरहेका छौँ । मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु । मेरो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायहरुलाई जानकारी नै छ । त्यसैले मेरो निवास परिवार तथा मेरो जीउ ज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुगोस् भन्ने समेत निवेदन गर्दछु,' पत्रमा भनिएको छ ।
पत्रमा देशको वर्तमान अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका सुरक्षासम्बन्धी विषयका कारण आफ्नो र परिवारको शान्ति–सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ ।
विशेषगरी प्रधानन्यायाधीशको जिम्मेवारीमा रहँदा आफूले गरेका विभिन्न न्यायिक निर्णयका कारण पछिल्लो समय असुरक्षा थपिएको जबराको दाबी छ ।
शनिबार मध्यराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ पुर्जीबिना नियन्त्रणमा लिए पनि कुनै कारबाही प्रक्रिया अघि नबढाई आइतबार दिउँसो छाडिएको थियो ।
प्रहरीले भने जेनजीबाट सुरक्षा खतरा रहेको भन्दै जबरालाई सुरक्षाका लागि नियन्त्रणमा लिएर कार्यालयमा राखिएको दाबी गर्दै आएको छ।प्रहरी नियन्त्रणबाट छुटेलगत्तै जबराले थप सुरक्षा माग गर्दै निवेदन दिएपछि उनको सुरक्षा व्यवस्थाबारे पुनः चासो बढेको छ ।



