काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।
प्रसाईंले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप छ । रसिक सांसद रचना खतिवडाका छोरा हुन् ।
प्रसाईंले सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै टिप्पणी गरेको आरोपपछि सांसद खतिवडा प्रतिनिधिसभाको बैठकमै भावुक भएकी थिइन् ।
आफूमाथि र छोराको विषयमा प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं विवादास्पद तथा अपमानजनक अभिव्यक्तिका कारण पटक–पटक प्रहरी नियन्त्रणमा पर्दै आएका छन् । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा घटनाबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध उजुरी पर्ने गरेको छ ।



