काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्। उनले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीको सुरक्षा, प्रतिफल र नाफा लैजान सहज हुने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबलमा बोल्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका हुन्।

भारतीय उद्योग परिसंघ (सीआईआई) ले होटल ताज प्यालेसमा आयोजना गरेको कार्यक्रममा उनले विशेषगरी सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीका क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे।

नेपालमा पहिले नै लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत आफ्नो लगानी थप विस्तार गर्न उनले अनुरोध गरे। नेपालमा लगानीका लागि अनुकूल वातावरण र प्रशस्त अवसर रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले लगानी आकर्षित गर्न सरकारले कानुनी तथा प्रशासनिक प्रक्रियालाई सरल र लगानीमैत्री बनाउँदै लगेको जानकारी दिए। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र आर्जित नाफा सहज रूपमा आफ्नो देशमा लैजान सकिने व्यवस्था गर्न सरकार सक्रिय रहेको उनले बताए।