काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
नवनियुक्त आईजीपी डा. मनोज केसीलाई मुद्दाको विपक्षीका रूपमा म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो।
यसअघि सर्वोच्च अदालतले नै आईजीपी केसीलाई म्याद बुझाउन प्रयास गरेको थियो। तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो।
त्यसपछि कार्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए। उक्त निवेदनका आधारमा केसी प्रहरी महानिरीक्षक रहेको स्पष्ट पार्दै निवेदन तथा आदेशमा आवश्यक संशोधन गरिएको थियो।
अदालतको आदेशअनुसार म्याद बुझाउने प्रक्रिया बाँकी रहेकाले आजको सुनुवाइ अघि बढ्न नसकेको हो। सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन।
सरकारले आफूलाई आईजीपी पदबाट हटाएको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए। यसअघि उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

.gif)


