काठमाडौं - भारतले नेपालमा बाढीपीडितको पुनर्स्थापना तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग प्याकेज घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तापछि यस्तो घोषणा गरेका हुन्।
दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालमा गएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। साथै, बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र नेपालको दीर्घकालीन विकासलाई नयाँ गति दिन ‘विकास समन्वय प्याकेज’ घोषणा गरेका हुन्।
घोषित प्याकेज २४ हजार करोड नेपाली रुपैयाँ बराबरको रहेको छ। तर, उक्त रकममध्ये कति अनुदान र कति ऋण हो भन्नेबारे मोदीले स्पष्ट पारेका छैनन्।
यसअघि नेपालले भारतसँग २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग माग गरेको थियो। नेपालले १ खर्ब रुपैयाँ अनुदान र १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको थियो।
नेपालको प्रस्तावअनुसार १ खर्ब रुपैयाँ अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना थियो। त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि थप ५० अर्ब रुपैयाँ सहयोग माग गरिएको थियो।
तर, भारतले घोषणा गरेको प्याकेजअन्तर्गत कुन परियोजनामा कति रकम उपलब्ध गराइनेछ र अनुदान तथा ऋणको अनुपात कस्तो हुनेछ भन्नेबारे भने खुलाइएको छैन।

.gif)


