काठमाडौं - मंगलवार पनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्त कार्यसूची थियो । आइतवार काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद ९साग०मा सहभागी हुने खेलाडीलाई प्रज्ञा भवनमा सम्बोधन गर्ने र दशरथ रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो ।

सरकारका तर्फबाट उनले खेलाडीलाई  ‘सरप्राइज’ प्याकेज घोषणा गर्ने तयारी पनि थियो । प्रधानमन्त्रीको सम्बोधनलाई महत्वपूर्ण मानेर पोखरा र जनकपुरमा बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई मंगलवार बिहानै काठमाडौं झिकाइएको थियो । 

तर बिहान ७ बजेदेखि प्रधानमन्त्री ओलीको पेट दुख्न थालेको थियो । दुखाइ बढ्दै गएर सहनै नसक्ने भएपछि ९ बजे उनलाई शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो । यो अस्पतालमा पेटको उपभार हुँदैन । तर शिक्षण अस्पतालमा भन्दा यहाँको आइसियू आध्निक र व्यवस्थित भएकाले अन्य समस्या हुँदा पनि ओलीलाई यही सेन्टरमा लग्ने गरिएको छ ।

प्रारम्भिक परीक्षणमा उनलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो । रगत र पिसाब जाँच तथा एक्सरे र भिडियो एक्सरे परीक्षणपछि  डाक्टरहरू निष्कर्षमा पुगे प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन, पेरिटोनाइटिस भएको हो ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न एक डाक्टरले भने– एपेन्डिक्समा संक्रमण भएमा एपेन्डिसाटिस भनिन्छ, तर एपेन्डिक्स मात्र होइन, त्यो वरिपरिको भाग र आन्द्रामा समेत संक्रमण फैलिएमा पेरिटोनाइटिस भनिन्छ । यो भनेको निश्चित अंग मात्र नभएर पेटको फराकिलो क्षत्रमा संक्रमण फैलिएको हो । 

नयाँ पत्रिकाबाट