सिमरामा फेरि तनाव: ४ राउण्ड अश्रु ग्यास र २ राउण्ड हवाइ फायर
बारा - सिमरामा जेनजी युवाहरूले गरेको प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको छ।
कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन चार राउन्ड अश्रु ग्यासर २ राउण्ड हवाई फायर गरिएको हो ।
प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ । सोही क्रममा ४ जना जेनजी र ६ जना प्रहरी गरी कूल १० जना घाइते भएका छन् ।
प्रदर्शनकारी युवाहरूको एक समूहले सिमरा बजारस्थित प्रहरीको बिट समेत जलाइदिएका छन्।
बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए। आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए।
त्यस पछि आक्रोशित युवाहरू एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थल पुगेपछि तनावको अवस्था उत्पन्न भएको थियो।
सोही विषयलाई लिएर बिहीबार पनि जेनजी युवाहरु प्रदर्शनमा उत्रिएका छन् । एमालेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको जेनजीको आरोप छ ।
आजै प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवाहरुलाई वार्तामा बोलाएका थिए ।
प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएको भन्दै जेनजी आन्दोलनका अगुवा सम्राट उपाध्यायले सीडीओ कार्यालयमा जान सक्ने अवस्था नभएको इलाका प्रहरी कार्यालयमै वार्ता हुनुपर्ने अडान लिएका छन् ।
दुइ जना वडा अध्यक्षलाई भने यसअघि नै प्रहरीले पक्राउ गरिसकेका छन्।
स्थिति उग्र बन्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज पनि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । तर कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस