काठमाडौं - मुलुकमा शुक्रबार कोरोनाबाट संक्रमितमध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको छ । देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको हो, जुन कुल संक्रमितको ४४.७६ प्रतिशत हो ।

केही दिनअघि दैनिक देखिने संक्रमितमध्ये एक तिहाइ काठमाडौं उपत्यकाका थिए । पछिल्ला दिन बढदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १०७ महिला र २४३ पुरुष गरेर ३५० जनामा शुक्रबार कोभिड संक्रमण देखिएको हो । यस्तै ललितपुरमा ४ महिला र ७ पुरुष गरी ११ जनामा र भक्तपुरमा २४ महिला र ३० पुरुष गरी ५४ जनामा संक्रमण देखिएको हो ।

विज्ञहरूले उपत्यकामा भित्रभित्रै फैलिसकेकाले संक्रमण तीव्र देखिएको र आगामी दिनमा झन् बढ्न सक्ने बताएका छन् । ‘अहिले स्थानीय काठमाडौंवासीमै बढी संक्रमण देखिन थालिएको छ, धेरैजसो संक्रमितको यात्रा इतिहास छैन,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘अन्य ठाउँभन्दा संक्रमणको दृष्टिले काठमाडौं बढी जोखिममा देखिएको छ ।’

५० लाखभन्दा बढी जनसंख्या उपत्यकामै भएकाले जनघनत्वको हिसाबले काठमाडौंमा कोरोनाको जोखिम उच्च छ । ‘काठमाडौंमा हाल बाहिरबाट आउनेभन्दा पनि यहीं रहेकाहरूले संक्रमण सार्न थालेका छन् र यो गति बढ्दो छ’ महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने । काठमाडौं उपत्यकामा दिनहुँ ४०० भन्दा बढी संक्रमित देखिन थालेका छन् । एक साताअघि दैनिक ३००/३५० को हाराहारीमा संक्रमित हुन्थे भने त्योभन्दा अघि अझै कम थियो ।

‘यही दरले कोभिड संक्रमण देखिइरह्यो भने आइतबारसम्म दिनहुँ ५५० देखि ६०० संक्रमित देखिन सक्छन्,’ कोइरालाले भने, ‘आगामी सातादेखि मुलुकमा दिनहुँ देखिने कुल संक्रमितको ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा देखिने छन् ।’ भक्तपुरमा शुक्रबार १४ जनाको पूरै परिवारलाई नै कोभिड संक्रमण देखिएको औंल्याउँदै कोइरालाले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैंकमा काम गर्ने र पूरै परिवार आदिमा बढी संक्रमण देखिएको बताए ।

महाशाखाका अनुसार उपत्यकामा सबैभन्दा बढी संक्रमण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकमा काम गर्ने, व्यापारी र सानातिना खुद्रा पसल चलाउनेलगायत छन् । देशभरिमा शुक्रबार देखिएका कुल संक्रमितमध्ये ३६ प्रतिशत महिला छन् । काठमाडौं उपत्यकामा शुक्रबार देखिएका कुल संक्रमितमध्ये ३२.५३ प्रतिशत महिला छन् ।

मुलुकमा पाँच सयभन्दा बढी संक्रमित उपचाररत रहेका ८ जिल्लामध्ये काठमाडौं र ललितपुरसमेत छन् । विज्ञहरूले उपत्यकामा आम नागरिकले थप स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

 कान्तिपुर दैनिकबाट