भैरहवा - गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशद्वारा मंगलवार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताएका हुन् ।

वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उनको दाबी छ ।

उनले भने- ‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनि भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कहीँकतैबाट पनि गर्नु र गराउन न्यायोचित हुँदैन । यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरुप भएको हो ।’

उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरु सार्वजानिक खपतको लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिँडिरहेको बताए ।

साथै मन्त्री अर्यालले जनताले महशुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरुलाई सचेत गराए ।