काठमाडौं - एनएमबी बैंकले आईएफसीसँग २ करोड ५० लाख अमेरीकी डलर ऋण लिएको छ। यसअघि दुई पटक आईएफसीसँग ऋण लिइसकेको एनएमबी बैंकले रकमबाट नेपालका साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह हुने जनाएको छ।

नेपालको बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको संकट कम गर्न वाणिज्य बैंकहरूले विदेशी बैंकबाट रकम भित्र्याउन थालेका छन्। 

नेपाली बैंक तथा वित्तीय संस्थाहरूले नवीकरणीय उर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुलजस्ता भौतिक पूर्वाधार, विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था छ। 

बैंकहरूसँग रकम अभाव भएपछि दुई वर्षअघि झण्डै एक दर्जन बैंकले वैदेशबाट ऋण लिएका थिए। केही दिनअघि सानिमा बैंकले पनि आईएफसीसँग २ करोड अमेरीकी डलर ऋण लिएको थियो।