काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा थप १३ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यूएईमा ६, भारतमा ५, ओमानमा १ र कुवेत १ गरी यो साता थप १३ नेपालीको मृत्यु भएको हो।

योसँगै शनिबार साँझसम्म कोरोनाकै कारण १४ देशमा गरी १ सय ४३ गैरआवासीय नेपालीको मृत्यु भएको समितिले जनाएको छ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ।

हालसम्म विदेशमा २८ हजार ९ सय १८ नेपाली संक्रमित भएका छन् भने तीमध्ये २५ हजार २ सय २६ जना भने निको भइसकेका छन्।

यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हुँदै गइरहेको तथ्यांकले देखाएको छ।