काठमाडौं - नेपाली जनताको ठूला त्याग र बलिदनबाट स्थापना भएको गणतन्त्रविरुद्ध प्रतिगाती तत्त्वबाट निरन्तर प्रहार भइरहेकाले यसविरुद्ध लोकतन्त्रवादीलाई एकजुट हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेका छन् । गणतन्त्र दिवसका उपलक्ष्यमा शनिबार बिहान शुभकामना सन्देश जारी गरीपूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले गणतन्त्रका विरोधीबाट यसका मूल्य–मान्यताविरुद्ध निरन्तर प्रहार भइरहेको उल्लेख गरेका हुन् ।

‘प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ,’ प्रचण्डले भनेका छन्, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्त्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ ।’