काठमाडौं - नेपाल राष्ट्र बैंकले कोभिडपीडितका लागि गत वर्षको सुविधामा निरन्तरता दिँदै सेयर बजारका ठूला खेलाडीलाई लगाम लगाउने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ। 

चालु आर्थिक वर्षका लागि ढिलो गरी शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा कोभिड १९ बाट समस्याग्रस्त बन्न पुगेका उद्योग व्यवसायलाई गत वर्ष दिएको सुविधामा कटौती गरिएको छैन। कोभिडपीडितलाई कर्जाको साँवा व्याज भुक्तानीका लागि समय थपदेखि पुनर्कर्जाको व्यवस्था यथावत राखिएको छ। कर्जालाई पुनर्संरचना, पुनर्तालिकीकरण गर्ने सुविधालाई पनि निरन्तरता दिइएको छ।

राष्ट्र बैंकका उच्च अधिकारीहरूका अनुसार पुनर्कर्जालाई निरन्तरता दिने नदिनेमा विवाद थियो। कतिपयले लामो समयसम्म यस्तो कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताएका थिए भने कतिपयले कोरोना महामारीको असर अझै बाँकी रहेकाले कम्तीमा एक वर्ष यसलाई कायमै राख्नुपर्ने धारणा राखेका थिए। बैंकले पुनर्कर्जाका लागि ल्याएको कार्यक्रममा गत असारसम्म एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा दिइएको छ। यो कार्यक्रममा दुई खर्ब १२ अर्ब रूपैयाँ छ। पुनर्कर्जाका लागि व्यवसायीलाई अति, मध्यम र सामान्य भनी तीन वर्गमा वर्गीकरण गरिएको छ।

राष्ट्र बैंकले कोभिडपीडितलाई सुविधा दिने भने पनि कतिपय विषयमा बैंक तथा वित्तीय संस्थाको भूमिकालाई भने बढाएको छ।

नागरिक दैनिकबाट