काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान संशोधनका विषयमा प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा मात्र सम्भव नहुने बताएका छन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनको लागि आफूहरू दुई तिहाइ पुर्याउन तयार रहेको बताएका थिए।
त्यसको जवाफ दिँदै लामिछानेले संविधान संशोधन दुई तिहाइ पुग्दैमा मात्र सम्भव नहुने बताएका हुन् ।
उनले भने- 'प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा संविधान संशोधन गर्दैनौँ भन्ने त पक्कै पनि होइन, त्यो हामी सबैलाई थाहा छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको मात्र दुई तिहाइले हुन सक्दैन। यी लगायतका कुराहरूलाई हामीले अवश्य ध्यान दिनुपर्छ।'
सरकारलाई ‘स्पिरिट’का लागि सहयोग गर्ने कुराको स्वागत गर्दै उनले संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया संविधानमा व्यवस्था भएअनुसार अधिकतम मेरिटका आधारमा अघि बढाउनुपर्ने बताए।
साथै, कुनै व्यक्तिसँग असहमति वा विवाद भएकै आधारमा संवैधानिक संस्था र त्यसको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदा संस्थाको गरिमा र विश्वसनीयतामा असर पर्न सक्ने उनको भनाइ थियो।

.gif)


