बारा - जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन् ।

बालिकाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गर्दै स्थानीयवासीले बिहीबार प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्न, दोषीलाई कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै चर्को नाराबाजी गरेका छन्।

गरिमा आइतबार बिहान घरनजिकै खेल्ने क्रममा बेपत्ता भएकी थिइन्। परिवार तथा स्थानीयवासीले खोजी गरे पनि तत्काल उनको अवस्था पत्ता लाग्न सकेको थिएन। मंगलबार साँझ प्रहरीले घरबाट करिब २०० मिटरको दूरीमा रहेको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा बालिकाको शव फेला पारेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको जनाएको छ।

बालिकाको निर्मम हत्याले स्थानीयवासी आक्रोशित बनेका छन्।