काठमाडौं-एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ ।

जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।

अखिलका महासचिव दीपक धामीले भने- ‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं ।’

सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएकाले आजदेखि देशैभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको अखिलको दाबी छ ।

मंगलबार सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगेका थिए ।

२३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको ज्यान जानुमा उनीहरू नै दोषी रहेकाले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग थियो । उक्त जाहेरी पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।

त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिलले मंगलबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दर्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो।

अहिले बालेनले सिंहदबार जल्दा समेत आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको भन्दै जाहेरी पर्न थालेको छ ।