हामी काम गर्न आएका हौँ, भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री कार्की
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारको अभियान अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
जेनजी आन्दोलनको भावना र जनअपेक्षाअनुसार सरकार अघि बढिरहेको बताउँदै उनले निर्वाचन तयारीसँगै सुशासन र पारदर्शिताका लागि कठोर कदम अख्तियार गरिएको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले बुधबार सिंहदरबारमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै सरकार भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डासहित अघि बढेको बताइन् ।
‘हामी काम गर्न नै आएका हौँ। युवाले बलिदान दिएर गरेको विद्रोहको मर्मअनुसार काम गर्नुपर्छ। यो वा त्यो बहाना गरेर पन्छिन पाउँदैनौँ। हामी रोकिँदैनौँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनका अनुसार सरकारले एकातिर निर्वाचन तयारीलाई तीव्र बनाइरहेको छ भने अर्कातिर सुशासनका आधारहरू मजबुत बनाउन निरन्तर पहल चलाइरहेको छ ।
भ्रष्टाचार छानबिनका लागि राज्यका विद्यमान संरचनाहरू पर्याप्त रहेकाले थप आयोग गठन नगर्ने निर्णय भएको प्रधानमन्त्री कार्कीले स्पष्ट पारेकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस