‘१५ जेठको बजेटमा प्रधानमन्त्रीको हालीमुहाली हुनसक्छ, अन्तरिम आदेश जारी गरि रोकियोस्’
काठमाडौं - प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ जारी छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा भैरहेको सुनुवाइमा बहसका क्रममा अधिवक्ता सुनिलकुमार पटेलले १५ जेठमा ल्याइने बजेट रोक्न अन्तरिम आदेश जारी गरिदिनसँग माग गरेका छन् । उनले चुनाव घोषणा गरेर बजेट ल्याउँदा पपुलिस्ट बजेट ल्याउने प्रबल सम्भावना रहेको भन्दै सो माग गरेका हुन् ।
‘हामीले संविधान बनाउँदा १५ जेठमा बजेट किन भन्यौँ भने, डेढ महिनासम्म बहस होस् पार्लियामेन्टमा, छलफल होस् भनेर हो । बजेटमा केही सुधार वा थप्नुपर्ने भए सजिलो होस् भनेर। अहिले संसद छैन र अध्यादेश ल्यायो भने मन्त्रिपरिषदले पारित गरेर राष्ट्रपतिले ल्याउँछन् । यसले गर्दा प्रधानमन्त्री ओली सर्वेसर्वा हुन्छन् ।,’ अधिवक्ता पटेलले भने, ‘इलेक्सन घोषणा गरेर बजेट ल्याउँदा पपुलिस्ट बजेट ल्याउने प्रबल सम्भावना छ । चन्दादाता, व्यापारीलाई कर छुट र फाइदा हुनेगरी ल्याउने सम्भावना छ ।’
उनले संसद विघटन भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन जरुरी नभएको पनि जिकिर गरे । उनले जेठ १५ गते बजेट आए प्रधानमन्त्री ओलीको हालीमुहाली हुने बताए । त्यसकारण बजेट नल्याउन सर्वोच्चले अन्तरिम आदेश जारी गनुपर्ने उनको माग छ ।
फेसबुक पेज Like गर्नुहोस