जसपा विवादः दुई अध्यक्ष दुईतिर बिभाजन, एकअर्कालाई स्पष्टिकरण सोधियो
काठमाडौं - सत्ताको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ । सत्ताकै कारणलाई लिएर दुई अध्यक्ष दुईतिर बिभाजन भएका छन् । यसै क्रममा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तथा यादवले ठाकुर पक्षलाई स्पष्टिकरण सोधेका छन् ।
ठाकुर पक्ष प्रधानमन्त्रीमा केपी शर्मा ओलीसँग नजिक छ भने यादव पक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा उभिएको छ । जसपामा कित्ताकाट देखिएको बेला ठाकुर पक्षले यादवलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेकै दिन मंगलबार अर्का अध्यक्ष यादवले पनि ठाकुरसहित उनी पक्षका नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेका छन्।
ठाकुर पक्षले नेता महतोलाई संसदीय दलको नेता बनाएको छ । यो पक्ष महतोकै नेतृत्वमा सरकारमा जाने तयारीमा पनि रहेको छ । यो पक्षले यादवले पनि ओलीलाई समर्थन गर्नुपर्नेमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै किन हस्ताक्षर गरेको भनेर तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
अध्यक्ष यादवले पनि ठाकुरलाई प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको भन्ने प्रश्न सोध्दै स्पष्टीकरण दिन भनेका छन् । साथै राजेन्द्र महतोलाई पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनेका बेला के आधारमा संसदीय दलको नेता घोषणा गरेको भन्ने जवाफ पनि मागेको छ । अध्यक्ष यादव पक्षले तीन दिनभित्र स्पष्टीकरण दिइसक्न भनेको छ ।
फेसबुक पेज Like गर्नुहोस