काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले रोक लगाएपछि आयोगले आपत्ति जनाएको छ ।
आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलका अनुसार जबराको अवस्थाबारे अनुगमन गर्न पुगेको आयोगको टोलीलाई कार्यालय प्रवेश गर्न दिइएन । टोली करिब ४५ मिनेटसम्म गेटमै कुरेर जबरालाई भेट्न नपाएपछि फर्किएको थियो ।
आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमन गर्न पुगेको टोलीलाई रोक लगाएको भन्दै आपत्तिजनक जनाएको हो ।
‘संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ,’ आयोगले भनेको छ ।
आयोगले आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
साथै आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति पनि आयोगले ध्यानाकर्षण जनाएको छ ।
आइतबार बिहान करिब ३ बजे सुरक्षाको कारण देखाउँदै प्रहरीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
उनलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको भए पनि प्रहरीले स्पष्ट कारण खुलाएको छैन । अहिले जबरालाई घरमै सुरक्षा दिने भन्दै छोडिएको छ ।




