काठमाडौं - उपत्यकाको सभ्यता, संस्कृति र आस्थाको मूल पहिचान बागमती नदीलाई पुनःजीवन दिन अभियान सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिका, बागमती सफाइ अभियन्ता, स्थानीय बासिन्दा तथा सबै सरोकारवालाको साझा पहलमा बागमतीलाई ढलमुक्त, स्वच्छ र आकर्षक बनाउने लक्ष्यसहित काम अघि बढाइएको हो ।

पहिलो चरणमा गुहेश्वरी–गोकर्ण खण्डलाई नमुना क्षेत्रका रूपमा विकास गर्ने योजना लागू गरिएको छ। गोकर्णेश्वर–५ जम्बुडाँडा क्षेत्रमा ढल व्यवस्थापन नहुँदा नदी प्रदूषित हुनु र करिडोर सडक क्षतिग्रस्त बन्नु मुख्य चुनौती मानिँदै आएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङका अनुसार अभियान अन्तर्गत जम्बुडाँडा क्षेत्रमा ढल व्यवस्थापन प्रणाली निर्माण, बागमती किनारका करिडोर सडक मर्मत, नदीमा थुप्रिएको फोहोर, बुट्टा र लेदो हटाउने कार्य एकैपटक अघि बढाइएको छ।

फोहोर हटाइएपछि निर्माण गरिएका चेक ड्याम प्रयोगमा ल्याई साना–साना ताल बनाइनेछ । ती तालमार्फत बोटिङसहितका वातावरणमैत्री पर्यटन गतिविधि सञ्चालन गर्ने तयारी छ, जसले स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

मन्त्री घिसिङले दीर्घकालीन रूपमा बागमतीसहित उपत्यकाका सबै नदी करिडोरलाई व्यवस्थित गर्दै काठमाडौंलाई स्वच्छ, सुन्दर र आधुनिक शहरका रूपमा रूपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरू भन्छन्— ‘जब बागमती स्वच्छ बन्छ, तब काठमाडौं साँच्चिकै सुन्दर बन्छ।’