काठमाडौं - आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकका लागि संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट आएका संशोधनहरू प्रस्तुत हुने र त्यसमाथि छलफल गरिने कार्यसूची रहेको छ ।

उक्त छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री दाहालले दिनुहुनेछ । त्यसपछि सभामुख घिमिरेले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।