काठमाडौं - पत्रकार एवम् साहित्यकार श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा मनमा बी राईको स्वर रहेको छ । अहिले सार्वजनिक गीत राईको दोस्रो गीत हो । यसअघि उनले शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत सार्वजनिक गरेका थिए । 

राईको शब्द रहेको गीतमा ओमप्रकाश राईले संगीत भरेका छन् ।गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

राई बिशेषतः साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् ।  राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन् । उनका ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ बालकथासंग्रह प्रकाशित छन् ।

संयुक्त लघुकथा संग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको नयाँ लघुकथासंग्रह प्रकाशनको तयारीमा छ ।