काठमाडौं - खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । 

काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ । 

तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ ।

आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । कम्पनीको अध्यक्षसमेत रहेका सचिव अर्यालले चामल कुहिएकोबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था छ । नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिवर्तन भएपछि मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था भएको हो । तर, आफू अध्यक्ष भएको कम्पनीको गोदाममा ठूलो परिमाणको चामल कुहिएर सरकारलाई लाखौं रुपैयाँ घाटा हुँदासमेत यसप्रति सचिव अर्यालले कुनै चासो दिएका छैनन् । 

राजधानी दैनिकबाट