काठमाडौं-उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता दिइएको पार्टीले जनाएको छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले बताइन् ।

८७ सदस्यीय प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एकजना मात्रै सांसद थिइन् । पार्टी विभाजनपछि अरू सांसद अशोक राई नेतृत्वको जसपामा लागेका थिए ।