शिक्षा विधेयक पारित गर्ने समितिको तयारी
काठमाडौं - प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोलिसम्ममा ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ पारित गर्ने तयारी गरेको छ।
आज बसेको समिति बैठकले लामो समयदेखि सहमति नजुटेको निजी लगानीमा सञ्चालनमा भएको स्कुल र इसिडीको विषयमा सहमति टुंगिएको छ।
समितिले निजी लगानीका विद्यालय खोल्न पाउने र त्यस्ता विद्यालय सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामूलक रूपमा सञ्चालन हुनेछन् भन्ने विधेयकमा व्यवस्था हुनेगरि सहमति जुटाएको छ।
समितिका सभापति अम्मर बहादुर थापाले राखेकाे निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रस्ताव पनि पारित भएकाे छ। सार्वजनिक विद्यालयमा बालविकास शिक्षा २ वर्षे बनाउनेमा सहमति जुटेको छ।
समितिकी सदस्य ईश्वरी घर्तीका अनुसार आज बसेको समिति बैठकले शिक्षा विधेयक पारित गर्न सकेन। भोलि शनिबार दिउँसो १ बजे समिति बैठक बोलाइएको छ। बाँकी रहेका विषयमाथि छलफल गरि सहमति भएमा भोलि नै समितिबाट शिक्षा विधेयक पारित हुने छ।
फेसबुक पेज Like गर्नुहोस