काठमाडौं -  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विशेष महाधिवेशन आफूले नचाहेको र जबर्जस्ती रूपमा आयोजना गरिएको बताएका छन् ।

काठमाडौंमा आयोजित विशेष महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफूले सबैको सहमतिमा विशेष महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आए पनि आफ्नो असहमतिका बीच महाधिवेशन गरिएको बताए।

देउवाले विशेष महाधिवेशनका क्रममा धेरै कांग्रेस नेता–कार्यकर्तालाई बाहिर राखिएको दाबीसमेत गरे। उनले त्यसविरुद्ध आफूहरू अदालत गएको र मुद्दाको अन्तिम निर्णय आउन बाँकी रहेको बताए।

‘विशेष अधिवेशनलाई मैले मानेको पनि थिइनँ। सबैको सहमतिमा विशेष महाधिवेशन गरौँ भनेको थिएँ,’ देउवाले भने, ‘जबर्जस्ती गरेर धेरै साथीलाई बाहिर राखियो। अदालत गयौँ। अदालतको निर्णय आउन बाँकी छ।’

उनले न्यायालयप्रति विश्वास व्यक्त गर्दै विगतमा आफूलाई सर्वोच्च अदालतले राजाको शासनकालमा समेत थुनामुक्त गरेको स्मरण गरे।

अहिले पनि न्यायालयले आफूलाई न्याय दिने विश्वास व्यक्त गर्दै उनले अदालतको विषयमा धेरै टिप्पणी गर्न आवश्यक नरहेको बताए।

‘सर्वोच्चले राजाले थुन्दा पनि छुटाएको हो। अहिले पनि न्यायालयले मलाई बचाएको छ। जसको कारणले म नेपालमा आएको छु,’ देउवाले भने।