झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र हुने अराजक र अनुशासनहीन गतिविधि स्वीकार्य नहुने बताएका छन्।

झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र अध्यक्षलाई हटाउने विषयमा सामाजिक सञ्जाल तथा हस्ताक्षर अभियान चलाउने गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।

उनले पार्टीभित्र अध्यक्ष परिवर्तन गर्नुपर्ने विषयमा असहमति भए सामाजिक सञ्जालमा अभियान चलाउनुको सट्टा पार्टी कमिटीमै छलफल गर्नुपर्ने बताए।

'पार्टीको विषय हाम्रो आन्तरिक विषय हो। अध्यक्ष हट्नुपर्छ भन्ने कसैलाई लाग्यो भने सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने हुँदैन। त्यो अनुशासनहीनता र अराजकता हो। यस्तो कुरा पार्टीमा मान्य हुन सक्दैन, सह्य हुँदैन,' ओलीले भने।

पार्टीभित्र आफ्ना धारणा र असन्तुष्टि राख्न सबैलाई अधिकार रहेको उल्लेख गर्दै उनले अध्यक्षप्रति असहमति भए पार्टीका सम्बन्धित कमिटीमा औपचारिक रूपमा कुरा राख्न सुझाव दिए।

‘पार्टीभित्र कुरा गर्न पाइन्छ। पार्टीमा लोकतन्त्र छ,’ ओलीले भने।

यसअघि इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले  ‘अध्यक्ष हटाउने’ भनेर चिया गफ र हस्ताक्षर अभियान चलाउँदैमा आफूलाई पार्टी अध्यक्षबाट हटाउन नसकिने भन्दै खुला चुनौती दिएका थिए ।