काठमाडौं - बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेको नेपालीको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएकोमा २२ नेपालीलाई अहिलेसम्म कोरोना भएको छ ।

केही समय अगाडि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । सोही क्रममा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ ।

बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।