काठमाडौं,एजेन्सी-चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ  । 

देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । 

चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड–१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन् । 

यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन् । एउटै सहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ । यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ । जनवरी ८ देखि यो नियम लागू हुने भएको छ ।