काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री बनाउने तयारी गरेका छन्।
निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री शाहले साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्।
प्रधानमन्त्री सचिवालयका स्रोतका अनुसार साहको नियुक्तिसम्बन्धी पत्र राष्ट्रपति कार्यालय पठाउने र आजै साँझ साढे ५ बजे सपथ गराउने तयारी छ।
साह सुनसरी क्षेत्र नम्बर ४ बाट गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
यसअघि चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएकी यादवले बिहीबार दिउँसो पदबाट राजीनामा दिएकी थिइन्।
ग्यास अभाव, आपूर्ति व्यवस्थापन तथा उद्योगीसम्बन्धी विवादास्पद अभिव्यक्तिलगायतका विषयमा आलोचना भइरहेका बेला यादवले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले उनको ठाउँमा साहलाई ल्याउने तयारी गरेका हुन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सचिवालय सदस्य एवं संसदीय दलका उपनेता गणेश पराजुलीलाई उद्योगमन्त्री बनाउने चर्चा चलेको थियो। तर पराजुलीको सचिवालयले मन्त्री बन्ने विषयमा कुनै सत्यता नरहेको भन्दै त्यसको खण्डन गरेको थियो।

.gif)


