काठमाडौं - उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवको सचिवालयका अनुसार उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएकी हुन्।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा ग्यास अभाव देखिएपछि समस्या समाधान गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना भइरहेको थियो।
बुधबार मात्र संसदीय समितिको बैठकमा उनले ग्यास अभावको दोष उद्योगीहरूमाथि लगाउँदै कर्मचारीले समेत आफूलाई सहयोग नगरेको गुनासो गरेकी थिइन्।
सोही बैठकमा उनले ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।
विवादास्पद अभिव्यक्ति र ग्यास अभाव समाधान गर्न नसकेको भन्दै आलोचना बढिरहेका बेला यादवले राजीनामा दिएकी हुन्।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवज्यूले आज सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू समक्ष आफ्नो पदबाट राजीनामा बुझाउनुभएको छ।
मन्त्री यादवज्यूले ब्यक्तिगत कारणले राजीनामा बुझाउनुभएको हो,’ यादवको सचिवालयले भनेको छ ।

.gif)


