सांसद यादवको अपहरण अनुसन्धान तामेलीमा राख्ने निर्णय
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेको छ ।
प्रहरी प्रतिवेदनका आधारमा सांसद यादवको अपहरण प्रकरण तामेलीमा गएको काठमाडौंका प्रमुख सरकारी वकिल हरिप्रसाद रेग्मीले जानकारी दिए ।
उनकाअनुसार अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला परेको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दले आवश्यक प्रमाण फेला नपरेकाले आवश्यक निर्देशनका लागि तामेलीमा राखिपाउँ भन्ने रायसहितको प्रतिवेदन पेश गरेका थिए ।
सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै गत वैशाख २२ गते सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरूद्ध सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए ।
वैशाख १४ गते महानगरीय प्रहरी परिसर काठमाडौंले महोत्तरीको घटना भन्दै जाहेरी लिन मानेको थिएन । पहिलोपटक सरकारी वकिल कार्यालयले पनि उजुरी लिन मानेको थिएन । तर, दोस्रोपटक सरकारी वकिलको कार्यालय, काठमाडौंले उनको जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको थियो ।
खनाल, बस्नेत र श्रेष्ठलाई गत वैशाख १० गते सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप लागेको थियो।
फेसबुक पेज Like गर्नुहोस