काठमाडौं - काठमाडौंबाट धरानतर्फ गइरहेको यात्रुवाहक बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

बा.प्र.०१–००६ ख ८५२२ नम्बरको बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा आफै अनियन्त्रित भई रोडको साइडमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको वसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो।

बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन्। तीमध्ये गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। 

बस चालक जिल्ला ओखलढुङगा चम्पादेबी गाउँपालिका–१० बस्ने वर्ष अन्दाजी ३० को सुमन खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।