काठमाडौं - चालू आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिना (भदौसम्म) विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।
२०८३ भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यो रकम एक खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांक अनुसार चालू आवको भदौसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो ।
चालू आवको दुई महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँं लिने नेपालीको संख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ रहेको थियो ।
।

.gif)



