वीरगञ्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
पर्सा - जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएको मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो ।
मेयर सिंह आज बिहान मात्रै जिल्लाको ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १२ जेठमा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
प्रारम्भिक विवरणअनुसार, मेयर सिंहले नक्कली कागजातका आधारमा अर्काको छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता जारी गराएको आरोपसहित जाहेरी परेको थियो ।
वीरगन्जका स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले पक्राउ गर्न अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक हुनासाथ मेयर सिंह भने मोबाइल अफ गरेर सम्पर्कबिहीन भएका थिए ।
भोलिपल्ट बुधबार भने उनी आफैं अदालत उपस्थित भएको विषय पनि सार्वजनिक भएको थियो । तर, अदालतले उनीमाथिको मुद्दाको कारबाही तत्काल नहुने जानकारी गराएको बताइएको छ ।
त्यसपछि फेरी फरार भएका मेयर सिंहलाई एक सातापछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परे लगत्तै पर्सा प्रहरीले मेयरलाइ आजै पक्राउ गरेर अदालतमा हाजिर गराएको थियो । अदालतका अनुसार सिंहविरुद्ध लिखत कीर्ते तथा झुट्टा विवरण पेश गरेको आरोपमा दुई छुट्टाछुट्टै कसुर अन्तर्गत मुद्दा दर्ता भएका थिए ।
लिखत कीर्तेसम्बन्धी अभियोगमा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरेको अभियोगमा १५ हजार रुपैयाँ धरौटी निर्धारण गरिएको हो। साथै मुद्दाको थप कानुनी प्रक्रिया अदालतको आदेशअनुसार अघि बढ्ने बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस