काठमाडौं - काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या हुनेमा २ महिला र दुई जना पुरुष रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोध ढुङ्गेलले बताउए।

ढुङ्गेलका अनुसार दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको हत्या भएको हो ।

गैह्रीगाउँ स्थित दिव्य सः मिलमा चारै जना कार्यरत थिए । शुक्रबार राति १२ बजेतिर उक्त घटना भएको बताइएको छ । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।

घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् । हत्या भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । राईको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ ।