काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ । यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

लुम्बिनीले अघिल्लो खेलकै प्लेइङ–११ लाई निरन्तरता दिएको छ । यता सुदूरपश्चिमले भने टोलीमा तीन परिवर्तन गरेको छ ।

सुदूरपश्चिममा दीपक बोहराको स्थानमा अविनाश बोहरा फर्किएका छन् । त्यस्तै, फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा क्रमशः थनुका मदुसन दबारे र जर्ज मन्सेले मौका पाएका छन् ।

स्कटिस अलराउन्डर म्याकमुलेन आईएल टी–२० खेल्न यूएई गएपछि उनको स्थानमा अर्का स्कटिस खेलाडी मन्सेलाई टोलीमा समेटिएको हो ।

दुवै टोलीको प्लेइङ–११

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहरा, अनिल खरेल, जर्ज मन्से, स्कट कुग्लेजिन, थनुका मदुसन दबारे र थरिन्दु रत्नायके ।

लुम्बिनी लायन्स : रोहित पौडेल, सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अविशेष गौतम, दिलीप नाथ, किशोर महतो, रुवेन ट्रम्पलम्यान, निरोशन डिकवेल्ला, डार्सी सर्ट र अली शेख ।