एजेन्सी- भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) खेलाडीका रूपमा आफ्नो यात्रा टुंग्याएका छन् ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार चेन्नई सुपर किंग्स (सीएसके)का पूर्वकप्तान धोनीले आईपीएलबाट सन्यास लिने निर्णय गरेको हो ।
४५ वर्षीय धोनी पछिल्लो समय चोट र फिटनेस समस्यासँग जुधिरहेका थिए । पिँडुलाको चोटका कारण उनले सन् २०२६ को आईपीएलमा एउटा पनि खेल खेल्न पाएनन् । उनको अनुपस्थितिमा चेन्नईले पूरै सिजन प्रतिस्पर्धा गरेको थियो ।
धोनीले पछिल्लोपटक सन् २०२५ को आईपीएल खेलेका थिए । त्यस सिजन रुतुराज गायकवाड चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि उनले बीचमै चेन्नईको कप्तानी सम्हालेका थिए ।
सन् २००८ मा आईपीएल सुरु भएदेखि नै धोनी प्रतियोगिताका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक रहँदै आएका थिए । उनको कप्तानीमा चेन्नई सुपर किंग्सले पाँचपटक आईपीएल उपाधि जितेको छ । सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा चेन्नईले उपाधि उचाल्दा टोलीको नेतृत्व धोनीले नै गरेका थिए ।
धोनीको नेतृत्वमा चेन्नईले आईपीएलमा छुट्टै पहिचान बनायो । मैदानमा उनको शान्त स्वभाव, खेलको परिस्थितिअनुसार निर्णय लिने क्षमता र दबाबमा पनि टोलीलाई जित दिलाउने शैलीले उनलाई समर्थकमाझ ‘थाला’का रूपमा लोकप्रिय बनाएको छ ।
धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । त्यसपछि पनि उनले आईपीएल खेल्न भने छाडेका थिएनन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएको ६ वर्षपछि अब उनको आईपीएल खेलाडी जीवन पनि टुंगिएको छ ।
यसैबीच, चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिवासनले आधिकारिक वक्तव्य जारी गर्दै धोनी खेलाडीका रूपमा सक्रिय भूमिकाबाट अलग भएर मेन्टरको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन् ।
चेन्नईले धोनीलाई सन् २०२७ को आईपीएलदेखि लागू हुने गरी टोलीको मेन्टर नियुक्त गरेको छ । खेलाडीका रूपमा टोलीलाई ऐतिहासिक सफलता दिलाएका धोनी अब नयाँ पुस्ताका खेलाडीलाई मार्गदर्शन गर्ने भूमिकामा देखिनेछन् ।
चेन्नईले सार्वजनिक गरेको घोषणामा धोनीलाई फ्रेन्चाइजीको यात्राको सुरुदेखिकै अभिन्न हिस्सा भन्दै नयाँ भूमिकामा स्वागत गरेको छ ।
‘महेन्द्रसिंह धोनीबिना सीएसके छैन । झन्डै दुई दशकदेखि हामीले सफलता, असफलता र अनेक उतारचढावमा सँगै यात्रा गरेका छौँ,’ श्रीनिवासनले भनेका छन् ।
धोनी र चेन्नईबीचको सम्बन्ध बलियो हुनुको मुख्य कारण एकअर्काको नियतमाथि कहिल्यै शंका नगर्नु रहेको पनि उनले बताएका छन् ।
‘सन् २००८ मा मैले नै धोनीलाई चेन्नईको टोलीमा आबद्ध गराउन जोड दिएको थिएँ । त्यो मेरो सबैभन्दा राम्रो निर्णय साबित भयो । फ्रेन्चाइजीका लागि उनले हासिल गरेका उपलब्धिका कारण मात्र होइन, उनी कस्तो व्यक्ति हुन् भन्ने कारणले पनि त्यो निर्णय सही थियो,’ श्रीनिवासनले भनेका छन् ।
खेलाडीका रूपमा चेन्नईलाई सफलताको शिखरमा पुर्याएका धोनी अब मेन्टरका रूपमा टोलीसँग जोडिनेछन् ।

.gif)


