काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गर्दै चालु आर्थिक वर्षका लागि सरकारले निर्धारण गरेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गरेरै छाड्ने दाबी गरेका छन्।
आज राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले गत वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य महत्वाकांक्षी भए पनि सुशासन र नीतिगत सुधारमार्फत हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षमा १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिँदै करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा राजस्व संकलनको हिस्सा अपेक्षाकृत कम रहेको बताए। यस वर्ष सरकारले राजस्व संकलनलाई १५ खर्ब ८० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको उनको भनाइ छ।
उनका अनुसार कोभिड महामारीपछि नेपालमा राजस्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित छ। यही वृद्धिदरले मात्र सरकारको महत्वाकांक्षी लक्ष्य पूरा नहुने भएकाले यस वर्ष २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरिएको हो।
राजस्व संकलनको गति तीव्र बनाउन सरकार आफैँ सक्रिय रूपमा मैदानमा उत्रिने बताउँदै वाग्लेले निजी क्षेत्रका सुझाव, गुनासा र समस्यालाई सरकारले गम्भीरतापूर्वक सुन्ने प्रतिबद्धता जनाए।
उनले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा विशेष जोड दिए। करजस्ता संवेदनशील विषयमा पटक–पटक वा हरेक साता नीतिगत परिवर्तन गर्दा निजी क्षेत्र प्रभावित हुने भन्दै आवश्यक सुधारसँगै नीतिगत स्थिरता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
‘

.gif)


