काठमाडौं - दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपाली कामदारलाई तत्काल नपठाइने भएको छ । पछिल्ला दिनहरुमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसबाट कोरियामा संक्रमितको संख्या बढेसँगै वैदेशिक रोजगार विभागले कामदार नपठाउने भएको हो ।

आगामी फागुन १८ गते कोरिया पठाउन लागिएको नेपाली कामदार नपठाउन सिफारिस गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए ।

'कोरियामा कोरोनाको प्रभाव बढिरहेको कारणले गर्दा त्यस्तो रणनीति चाल्न लागेको हो', उनले भने, 'हालकै अवस्थामा नेपाली कामदार कोरिया पठाउनु हुँदैन ।'

हालसम्म दक्षिण कोरियामा सरकारीस्तरबाट करिब ४० हजार नेपाली गएका तथ्याङ रहेकाे छ ।

यसअघि नै दक्षिण कोरियास्थित नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सचेतना अपनाउन कोरियामा रहेका नेपालीहरूलाई आग्रह गरिसकेको छ ।