काठमाडौं- प्रहरीले हवाई फायर गरी बाँकेको कोहलपुरमा ठूलो परिमाणको लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजंग गिरी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । 

प्रहरीले उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अवैध लागूऔषध अफिम र दुई थान मोबाइल फोन बरामद गरेको छ । अफिमको कारोबार भइरहेको अवस्थामा प्रहरीले घेरा हालेपछि भाग्न खोजेका अभियुक्तहरूलाई रोक्न प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको प्रहरीले जनाएको छ ।