काठमाडौँ - देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।

देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।