काठमाडौं - हिरासतमा रहेकी बिचौलिया इनम सापकोटासँग प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहितलाई जोडेर सार्वजनिक भएका विषयमा नेपाल प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
प्रहरीले नेतृत्वलाई जोडेर आएका विषय भ्रमपूर्ण र झुटा भएको दाबी गर्दै सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको आरोप लगाएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीलाई कमजोर बनाउने र सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच भएका केही व्यक्तिले चालबाजी गरिरहेको दाबी गरेका छन् ।
विज्ञप्तिमा त्यस्ता व्यक्तिमाथि कानुनबमोजिम अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने उल्लेख छ।
प्रहरीले संगठनको नेतृत्वलाई जोडेर सार्वजनिक भएका विषयलाई भ्रमपूर्ण र झुटा भन्दै खण्डन गरेको हो ।
यसअघि बिहीबार प्रहरी महानिरीक्षक कार्कीले पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका थिए। बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० सहित उच्च प्रहरी अधिकारीहरू सहभागी भएका थिए।
दिनभर चलेको छलफलपछि प्रहरीले नेतृत्वमाथि सार्वजनिक भएका आरोपबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। बैठकमा प्रहरी संगठनका पछिल्ला घटनाक्रम र अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना बाहिरिएको विषयमा समेत छलफल भएको जनाइएको छ ।

.gif)


